शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

चितवनमा एमालेको १० औँ महाधिवेशन

चितवनमा एमालेको १० औँ महाधिवेशन

चितवन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज शुक्रबार १० औँ महाधिवेशन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत झण्डोत्तोलन गरेर पौँने २ बजे महाधिवेशनको उद्घाटन गरेका छन् ।
उद्घाटनसँगै पाहुनाका रुपमा निमन्त्रण गरिएको प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापा लगायतले शुभकामना मन्तब्य राखे । उनीहरुले एमालेलाई देश र जनताको आकांक्षा अनुसार चल्न सुझाब दिएका थिए । एमाले अध्यक्ष ओली लगायतका नेताहरुले महाधिवेशनलाई चुनाव लक्षित शक्ति प्रदर्शनका रुपमा संकेत गर्दै एमाले आगामी निर्वाचनमा पनि पहिलो शक्ति बन्ने उद्घोष गरेका थिए । एमाले अध्यक्ष ओलीले एकल बहुमतसहित सिंहदरबार छिर्ने दाबी गरेका छन् ।
संशोधित विधानमा भएको व्यवस्थाअनुसार एमाले महाधिवेशनमार्फत विभिन्न क्षेत्रबाट केन्द्रीय सदस्यहरु प्रतिनिधित्व हुनेछन् । आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्र र श्रमिक क्षेत्रबाट २१ महिलासहित ६६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । यस्तै सात प्रदेश, उपत्यका समन्वय र सम्पर्क समन्वयमा १६ महिलासहित ४६ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवसहित १५ पदाधिकारीमा भने महिला कोटा छुट्याइएको छैन । खुला सदस्यमा ३८ महिलासहित ९८ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ केन्द्रीय कमिटीमा कम्तीमा ७५ जना महिला सदस्य हुनेछन् । महाधिवेशनले १५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र १५ सदस्यीय केन्द्रीय लेखा आयोगका पदाधिकारि समेत निर्वाचित गर्नेछ ।