बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

स्याउ उत्पादन १० प्रतिशतले वृद्धि

स्याउ उत्पादन १० प्रतिशतले वृद्धि

मनाङ
मनाङको ङिस्याङ१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ। ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ। एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङले अहिले ‘गोल्डेन’ र ‘फुजी’ जातको स्याउ टिप्न थालिएको जानकारी दिए। ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको यो फार्ममा अघिल्लो वर्ष चार सय मेट्रिक टन स्याउ फलेको थियो।

यस वर्ष पाँच सय मेट्रिक टन अर्थात् १० प्रतिशत स्याउ उत्पादन हुने अनुमान गरिएको छ। मनाङका संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङका अनुसार मनाङबाट नेपालमा स्याउ खेतीमा एउटा क्रान्तिको सुरु भएको छ। अहिले मनाङबाट काठमाडौँ, पोखरामात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ। यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ।

‘हिजो धेरै स्याउ फल्ने थिएन। त्यो पनि मनाङमै खपत हुन्थ्यो। केही ठाउँमा मदिरा बनाइन्थ्यो। अहिले सडक बनेपछि काठमाडौँका तारे होटलसहित तराईमा मनाङको स्याउ पुगेको छ’, उनले भने।

मनाङमा उत्पादित स्याउ लमजुङको बेसीसहर हुँदै पोखरा, चितवन र काठमाडौँसम्म खपत हुने गरेको गुरुङले जानकारी दिए। समुद्री सतहदेखि २९४० मिटर उचाइको भ्राताङमा इटाली र सर्भियाबाट स्याउ बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ।