बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

झण्डै १७ हजार ऋणी परे कालोसूचीमा

झण्डै १७ हजार ऋणी परे कालोसूचीमा

काठमाडौं
बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर नतिर्ने खराब ऋणीहरूको सङ्ख्या झण्डै १७ हजार पुगेको छ । नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म यस्तो ऋणीहरूको सङ्ख्या १६ हजार ९८७ पुगेको हो । बैंकले यस्ता ऋणीहरूलाई कालोसूचीमा राखेको छ ।
कर्जा सूचना केन्द्रले आर्थिक वर्ष २०७७/७८ मा २७ वाणिज्य बैंक, १८ विकास बैंक, १७ वित्त कम्पनी र ७० लघुवित्त वित्तीय संस्थाबाट कुल ५२ लाख ८४ हजार ३६१ कर्जाको सूचना माग गरेको थियो । जसमध्येबाट अधिकतम १६ हजार ९८७ ऋणी कालोसूचीमा परेको भेटिएको केन्द्रले बताएको छ ।
२०७७ असार मसान्तसम्ममा यस्तो कालोसूचीमा सूचीकृत ऋणीहरूको सङ्ख्या १२ हजार २९१ मात्र रहेको थियो । तर, प्राप्त तथ्याङ्क अनुसार एक वर्षमा नै कालोसूचीमा पर्ने खराब ऋणीहरूको सङ्ख्या ३८।२१ प्रतिशतले बढेको बैंकले जनाएको छ ।