शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

५० वर्षपछि फेरि चोरी भयो हरिसिद्धिमा मूर्ति

५० वर्षपछि फेरि चोरी भयो हरिसिद्धिमा मूर्ति

काठमाडौं
ललितपुरको हरिसिद्धिस्थित दल्छीमा रहेको मन्दिरको एउटा मूर्ति चोरी भएको छ । त्यस्तै हरिसिद्धिकै पाखचा टोलको मन्दिरमा रहेको अर्को मूर्ति चोर्ने प्रयास भएको छ ।

ललितपुर महानगरपालिका–२९ का वडाअध्यक्ष गणेश महर्जनका अनुसार चोरी भएको मूर्ति ०२३ वैशाख ७ गते स्थापना गरिएको थियो । राति १ बजेपछि मूर्ति चोरी भएको उनको अनुमान छ । अध्यक्ष महर्जनले भने, “हरिसिद्धिमा १२ वर्षको जात्रा हुन लागेको छ । यसका लागि हरिसिद्धिमा मुख्य मन्दिर हरिसिद्धि भवानीका हाम्रा पुजारीहरू हिजो रातको १ बजेसम्म त्यसकै तयारीमा हुनुहुन्थ्यो । त्यसैले त्यो समयपछि, उहाँहरू पनि सुतिसकेपछि भएको हुनुपर्छ ।”

एक स्थानीयले आफ्नो घरछेउको रुखबाट एक अपरिचित व्यक्ति रातको १ बजे ओर्लेको देखेका जानकारी आएको उनले बताए । मूर्ति चोरी गर्नेको खोजी भइरहेको छ ।

उनका अनुसार हरिसिद्धिमा करिब पाँच दशकपछि मूर्ति चोरी भएको हो । यसअघि पनि मूल मन्दिर ‘हरिसिद्धि भवानी’मै भएको मूर्ति चोरी भएको थियो ।

यस्तै, हरिसिद्धि भवानी मन्दिरको मूल प्रवेशद्वारमा रहेको ऐतिहासिक तोरन पनि चोर्ने प्रयास भएको उनले जानकारी दिए । “हाम्रो संस्कृति अनि सम्पदाले भरिएको हरिसिद्धिमा बारम्बार यसो हुनुले यहाँको पौराणिक सम्पदाको सुरक्षामा प्रश्नचिह्न उठेको छ,” अध्यक्ष महर्जनले चिन्ता व्यक्त गरे ।