शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार, भारतमा समातिईन् महिला

सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार, भारतमा समातिईन् महिला

कैलाली
सौताको छोरालाई बिषादी खुवाई हत्या गरी फरार रहेकी एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह–२ घर भएकी कैलाली धनगढी उप–महानगरपालिका–२ मालिका टोल डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकाया रहेकी छिन् ।
भारतमा रहेका मागीका श्रीमान ३५ वर्षीय बहादुर रोकायाले मंसिर २ गते आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले डेरा कोठामा गई बुझी दिन भनि खबर गरेका थिए । उनका आफन्तले उक्त डेरा कोठामा बालकको खुट्टामात्र अगाडिको झ्यालबाट देखिएको र कोठामा कोही नभएको भनी प्रहरी कार्यालयमा जानकारी गराएका थिए । त्यसपछि खटिएको प्रहरीले हेर्दा मागीका सौताको छोरा धनगढी उपमहानगरपालिका–२ स्थित हिमालय एकेडमीमा अध्ययनरत १० वर्षीय निशान्त थापामगरको शव फेला परेको थियो ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप प्रहरी टोली खटिई फरार रहेकी मागी रोकायाको खोजी भईरहेकोमा उनी भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि भारतीय प्रहरीको सहयोग र समन्वयमा मागीलाई भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मागी रोकाया र उनका श्रीमान बिच वादविवाद र झैझगडा भएको रिसले मागीले गत कात्तिक २९ गते निशान्त स्कूलबाट फर्किएपछि दुधमा बिषादी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनी आफ्ना छोरा र छोरी लगी भारततर्फ गएको खुल्न आएको छ ।
उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।