शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

प्रदेश २ मा आजदेखि अधिवेशन गर्दै कांग्रेस

प्रदेश २ मा आजदेखि अधिवेशन गर्दै कांग्रेस

काठमाडौं
सत्तारुढ नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा आजदेखि प्रदेश अधिवेशन गर्ने भएको छ। यसअघि छ वटा प्रदेशमा अधिवेशन भइसकेको छ।

केन्द्रीय महाधिवेशन सकेर प्रदेश २ मा प्रदेश अधिवेशन गर्न लागिएको हो। अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ।

प्रदेश सभापतिका लागि मुख्यगरी दुई जना मैदानमा देखिएका छन्। आज उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी कार्यतालिका छ भने बुधबार मतदान हुनेछ।

प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव र रौतहट कांग्रेसका पूर्वसभापति कृष्णा यादव प्रदेश सभापति पदका आकांक्षी छन्।

सभापतिका आकांक्षीमध्ये रामसरोज विमलेन्द्र निधिनिकट छन्। कृष्णा सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। सभापति पदमा निधिनिकट रामसरोजलाई कांग्रेस नेता शेखर कोइराला पक्षले समर्थन गर्ने गरी छलफल अगाडि बढेको स्रोतको दाबी छ।

प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्। प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र भातृ तथा शुभेच्छुक संघसंस्थामा तोकिएका प्रतिनिधि प्रदेश अधिवेशनका मतदाता हुन्छन्।

प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन पनि हुन बाँकी छ। कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ को प्रदेश अधिवेशन र बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।

क्रियाशील सदस्यता विवाद र समयमै अधिवेशनहरू नहुँदा प्रदेश २ मा केन्द्रीय महाधिवेशनपछि अधिवेशनहरू हुन लागेका छन्।