शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

ज्यान मुद्धामा २० वर्ष कैद तोक्दा होमबहादुर फरार, २८ वर्षपछि प्रहरी घर पुग्दा डोकोभित्र लुके

ज्यान मुद्धामा २० वर्ष कैद तोक्दा होमबहादुर फरार, २८ वर्षपछि प्रहरी घर पुग्दा डोकोभित्र लुके

रामेछाप
जिल्ला अदालत रामेछापबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय सुनाइएका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वराका ५५ बर्षिय होम बहादुर थापामगर रहेका छन् । उनलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको हो । प्रहरीले थापामगरलाई उनकै घरभित्र डोकोमा लुकीरहेको अवस्थामा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले अदालतबाट कैद सजाय सुनाएपछि फरार रहेका थापामगरलाई विशेष सूचनाको आधारमा घरमा आएको मौका छापेर पक्राउ गरिएको बताए । उनले भने,‘प्रहरी घरमा पुग्दा थापामगरकी श्रीमतीले घरमा छैन भनेर ढाँटेकी थिइन, तर प्रहरीले खोजतलास गर्दा डोकोमा लुकेर बसेको अवस्थामा फेला पार्यो ।’

कर्तब्य ज्यान मुद्दामा रामेछाप जिल्ला अदालतबाट २०५० फागुन १६ गते फैसला भई थापामगरलाई २० वर्ष कैद सजाय तोकिएको थियो । त्यसपछि २८ वर्षदेखि फरार रहेका उनलार्य जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापामगरसहित ४ जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कुले मुटु छेड्ने गरि प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीले बताएको छ । डिएसपी ढुंगानाका अनुसार अन्य दोषीहरु पक्राउ परि सजाय भुक्तान गरि सकेता पनि हत्याका योजनाकार भने अहिले मात्र पक्राउ परेका हुन् ।