शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

ट्याक्सी भाडामा लिई रातको समयमा चोरी

ट्याक्सी भाडामा लिई रातको समयमा चोरी

काठमाडौं
रातको समयमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई गएको सोमबार अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले बुद्धनगरबाट पक्राउ गरेको हो ।

मंसिर ११ गते राति साँढे १२ बजेदेखि २ बजेको समयमा काठमाडौं चन्दागिरी–३, थानकोटस्थित बिशाल प्लाष्टोक्याव ई प्रालिको थानकोट स्थित कारखानाबाट अपरिचित व्यक्तिहरु प्रवेश गरी पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको साइजर ६ थान र तामाको पावर केबल तार समेत जम्मा १८ लाख ७६ हजार चार सय रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।

महाशाखाको टोलीले उक्त घटनामा संलग्न आरोपमा गएको सोमबार साँझ ६ बजे बुद्धनगरबाट उक्त चोरी कार्यमा संलग्न राम पुनित महतोसहित ५ जना र निजहरुले चोरी गरी ल्याएका सामानहरु खरिद गर्ने कवाड पसल सञ्चालक सत्रुधन प्रसाद जैसवाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट टोलीले साँढे ९ केजी तामा पित्तलको तार समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट निजहरुले रातको समयमा ट्याक्सी प्रयोग गरी समूह बनाई विभिन्न सहकारी संस्था लगायत अन्य कारखानाहरुमा चोरी गर्ने गरेको खुल्न आएको बताईन्छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ ।