बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

धरौटीमा छुटे ‘गोरे’ का भाइ रमेश

धरौटीमा छुटे ‘गोरे’ का भाइ रमेश

काठमाडौं
३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार उप्रेतीलाई दुई लाख धरौटीमा छाडन आदेश दिएको हो।

थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

युएई बस्दै आएका रमेश मङ्गलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो। उनी सुन तस्करी प्रकरणको रहस्य बाहिरिएपछि फरार भएका थिए।

गत २७ मंसिरमा मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए। थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए।

२२ मङ्सिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए। फैसलापछि हाजिर भएका तीन आरोपी धरौटी बुझाएर छुटेका हुन्। अदालतले सुन तस्करी प्रकरणसँगै जाडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो।