शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

काठमाडौंमै झारफुकको नाममा त्रिशुल प्रहार, १४ वर्षीया किशोरीको मृत्यु

काठमाडौंमै झारफुकको नाममा त्रिशुल प्रहार, १४ वर्षीया किशोरीको मृत्यु

काठमाडौं
सिन्धुपाल्चोक चौतारा–२ बतासे घर भई मध्यपुर थिमिको मगरगाउँ बस्ने १४ वर्षीया रोशनी श्रेष्ठको सधैंजसो टाउको दुखिरहने गर्थे । क्लिनिक लैजाँदा स्वास्थ्यकर्मीले केही समस्या छैन भन्थे । तर उनको टाउको दुखाइ भने उस्तै थियो । रोशनीकी आमा राधिका श्रेष्ठ ज्यामी काम गर्थिन । उही बेला झारफुकबाट धेरैको उपचार भएको सुनेकी थिइन् । छोरी रोशनीको टाउको दुखिरहने समस्या पनि झारफुकबाट निको हुन्छ भन्ने राधिकालाई लाग्यो ।

झारफुककै लागि उनी छोरीलाई लिएर नागार्जुन नगरपालिका–१ रानीवन पानीट्याङ्की नजिकैको झारफुक केन्द्र धाउन थालिन् । लामो दूरी धाइरहनु भन्दा छोरीलाई केन्द्रमै राखेर उपचार गराउन झारफुक केन्द्रकी सञ्चालक ‘माता’ भनिने ४८ वर्षीया उमा शाही ठकुरीले सल्लाह दिइन् । जसअनुसार राधिकाले पुस ३ मा छोरीलाई केन्द्रमै छोडेर मध्यपुर थिमि फर्किइन् ।

गणेश मावि नगदेशमा कक्षा ६ मा अध्ययनरत रोशनीको आन्तरिक परीक्षा पुस २२ बाट सुरु हुँदै थियो । परीक्षाका लागि रोशनीलाई लिन केन्द्र पुगेकी राधिकालाई महिनावारी भएको भन्दै ठकुरीले भित्र छिर्न त दिइनन् नै, छोरीलाई घर फर्किन पनि दिइनन् । ‘छोरीले परीक्षा दिने हो ममी,हजुरसँगै जान्छु भन्दै थिई । उनले आउन दिइनन् । तपाईंको छोरी मेरी पनि छोरी हो । तलमाथि भए जिम्मेवारी लिन्छु भन्थिन्,’ राधिकाले भनिन्, ‘परीक्षाभन्दा ठूलो त स्वास्थ्य हो, ठीक भएपछि जानू भनिन्, छोडेर आएँ ।’

५ दिनपछि (शनिबार) छोरी भेट्न केन्द्र जान तयार हुँदै गरेकी राधिकाको फोनमा घण्टी बज्यो । ‘बहिनी बेहोस छिन्, छिट्टो आउनुस्, अस्पताल लैजानुपर्यो भन्ने फोन आयो,’ राधिकाले भनिन्, ‘केन्द्रमै बस्ने कृतिका तामाङले फोन गरेकी थिइन् ।’ उनका अनुसार शनिबार बिहान नागार्जुन पुग्दा उमा रोशनीलाई सुम्सुम्याएर बसेकी थिइन् । तत्कालै सीतापाइलास्थित मनमोहन मेमोरियल अस्पताल पुर्याए पनि रोशनीलाई चिकित्सकले पहिले नै मृत्यु भइसकेको बताए ।

रोशनीका परिवारले झारफुकबाट उपचार गर्ने भन्दै त्रिशुल प्रहार गरी उनको हत्या गरेको आरोप लगाएको छ । ‘शुक्रबार दिउँसो शौचालयको अगाडि छोरी लडेको रैछ । त्यसपछि ठकुरीले त्रिशुल, लात्ता प्रहार गरेर घाइते बनाइन् । छिमेकीले नहान्न आग्रह गर्दा टहराभित्र लगेर प्रहार गरेको पाइएको छ,’ रोशनीका ठूलोबुबा दुर्गाबहादुर श्रेष्ठले दाबी गरे, ‘त्रिशुलले छोरीको तिघ्रा, खुट्टा, अनुहारलगायत शरीरका विभिन्न अंगमा प्वाल नै परेको छ ।’ किशोरीको मृत्युपछि उमालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । मृतक किशोरीको शरीरमा नीलडामहरू देखिएको उनको भनाइ छ ।