शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत

काठमाडौं
सत्तारुढ पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सहमत भएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरु आवद्ध उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै सम्पन्न गर्ने सहमति भएको हो।

संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा निर्वाचन आयोगसँग लगातार छलफल भईरहेको जानकारी दिएका थिए।

निर्वाचन आयोगले सरकारलाई बैशाख भित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्थाबारे जानकारी गराउँदै वैशाख १४ गते एकै चरणमा र दुई चरणमा भए बैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गराउनुपर्ने मिति समेत प्रस्ताव गरिसकेको छ।

बैठकमा आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीचको उम्मेदवारको विजय कसरी सुनिश्चित गराउने भन्ने विषयमा पनि समितिमा छलफल गरिएको थियो। गठबन्धन दलहरुबीचको उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा विजयी सुनिश्चित गराउने भन्ने विषयमा पनि बैठकमा छलफल गरिएको मन्त्री कार्कीले बताए। राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर उम्मेदवारी दिएका छन्।