शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

भिजिट भिसाको दुरुपयोग भयोः गृहमन्त्री खाँण

भिजिट भिसाको दुरुपयोग भयोः गृहमन्त्री खाँण

काठमाडौं
गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग भएको बताउँदै त्यस्तो नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन्। गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग गरेर पनि नेपाली नागरिकले तेस्रो मुलुकमा पीडा भोग्नु परेको बताएका छन्।

उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए।

उनले वैदेशिक रोजगारीमा गएकाहरु ठगीमा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्दारमा पनि सरकारले गम्भीरतापूर्वक लाग्नुपर्ने बताए। गृहमन्त्री खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताए।

‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले। त्यो पनि समस्या छ। काम लागि गए बेरोजगार श्रमिकहरुको पनि समस्या छ। यस विषयमा श्रम मन्त्रीले मन्त्रीपरिषद्मा कुरा राख्नु भएको छ। यो समस्या सल्टाउन नेपाल सरकार गम्भीर छ’, उनले भने, ‘भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगरुन् त्यता नै हाम्रो सजगता हो। त्यसपछि एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्ने हो। यसमा नेपाल सरकार गृह मन्त्रालय लागि परेको छ।’

बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीमाथि बिचौलियाले ठगी गरेको बताए। उनले कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्थाका लागि गृहमन्त्री खाँणसँग आग्रह गरे।

श्रेष्ठले युएईमा घरेलु कामदार महिलाको समस्या ठूलो रहेको उल्लेख गर्दै समाधानका लागि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताए। ‘घरेलु कामदार महिलाहरुको ठूलो समस्या छ। त्यसैगरी व्यक्तिगत श्रम स्वीकृति लिएर गएका नेपालीहरुको पनि ठूलो पीडा छु, उनले भने,ुती समस्या समाधानका लागि गृह मन्त्रालयले छुट्टै प्रहरी युनिट परिचालन गर्नुपर्ने अवस्था छ।’

श्रममन्त्री श्रेष्ठले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा पीडा भोगिरहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था नरहेको पनि बैठकमा पटकपटक दोहोर्याए।