मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

क्रिप्टो करेन्सी कारोबारमा संलग्न चार जनाविरुद्ध साढे ३७ करोडको मुद्दा

क्रिप्टो करेन्सी कारोबारमा संलग्न चार जनाविरुद्ध साढे ३७ करोडको मुद्दा

काठमाडौं
अवैध घोषणा गरेको क्रिप्टो करेन्सी कारोबारमा मुछिएका चारजनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ। विभागले एकै परिवारका ३ सहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दायर गरेको हो।

विभागले क्रिप्टो करेन्सीको कारोबारमा सम्लग्न भएको आरोपमा ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँ बिगो दाबी गरेको छ । विभागले कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकै साथी अनिता धितालविरुद्ध मुद्दा दायर गरेको हो।

काठमाडौं अदालतमा मुद्दा दायर भएका चारजना क्रिप्टो करेन्सीको कारोबारमा संलग्न रहेको विभागको अनुसन्धानले देखाएको छ। दिनेशले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको विभागले दाबी गरेको छ।

त्यस्तै, उनकी दिदी भगवतीको खाताबाट २० करोड ४२ लाख ९४ हजा रुपैयाँ बढी र बुवा नरबहादुरको बैंक खाताबाट ६४ लाख ११ हजार कारोबार भएको देखिएको छ। त्यसैगरी दिनेशकी साथी अनिताको खाताबाट ५ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको विभागले जनाएको छ।