बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

सञ्चालनको तयारीमा गौतमबुद्ध विमानस्थल

सञ्चालनको तयारीमा गौतमबुद्ध विमानस्थल

काठमाडौं
ढिलो गरी निर्माण सम्पन्न भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ। आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आगामी बुद्ध जयन्तीदेखि नियमित उडान सुरु गर्ने सरकारको योजना छ।

विमानस्थलबाट आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन्। शनिवार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात् उनले भने, ‘मौसमले साथ दिएमा फागुन ९ गते क्यालिबे्रशन फ्लाइट र बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान हुन्छ।’

हुस्सु, कुहिरो र भिजीबिलिटी कम भएको बेला भने सो फ्लाइट गर्न नमिल्ने प्राविधिकले बताएका छन् । मन्त्री आलेले ढिलाइ नगर्न र क्यालिबे्रशन फ्लाइट नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिएका छन्।

मन्त्री आलेले भने, ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्ने छ। हामी त्यहीअनुसार तयारी गरिरहेका छौं।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेका अनुसार एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्नेछ।

एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने, ‘यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न मिल्छ । क्यालिबे्रशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा जहाज ल्याण्डिङ गर्ने तयारी छ।’

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर साढे सात अर्ब रुपैयाँ लगानी भइसकेको छ।