शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

‘समाजवादी लक्ष्य हासिल गर्न खबरदारी आवश्यक’

‘समाजवादी लक्ष्य हासिल गर्न खबरदारी आवश्यक’

काठमाडौं
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डल’ले संविधानद्वारा प्रदत्त समावेशी र समानुपातिक प्रणाली बलियो बनाई समावादको लक्ष्य हासिल गर्न समुदायले खबरदारी गरिरहनुपर्ने बताएका छन्।

तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा बुधबार बिहान शुभकामना सन्देश जारी गरी अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताएका हुन्।

‘स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान सुस्वास्थ्य र दीर्घायुको शुभेच्छासहित सोनाम ल्होछारको पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रचण्डले भनेका छन्।

कूल पूजा र प्रकृति पूजा गर्दै मनाइने यस पर्वलाई तामाङ समुदायले विशेष उत्सवका रुपमा मनाउने गरेका छन्। सरल र मिलनसार यो समुदाय समूहगत रूपमा शुभकामना आदानप्रदान गर्दै मीठोमसिनो खाने र रमाइलो गर्ने गर्छन्।

‘विभिन्न समुदायका यस प्रकारका सांस्कृतिक पर्वहरूले नेपालीहरूबीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यबद्धतामा सघाउ पुर्याउँदछ’, प्रचण्डले भनेका छन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा प्रचण्डले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन्।