शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

‘आयोगले सिफारिस गरेकै मितिमा स्थानीय चुनाव गर्नुपर्छ’

‘आयोगले सिफारिस गरेकै मितिमा स्थानीय चुनाव गर्नुपर्छ’


काठमाडाैं,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ गते नै सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचन आयोगले दिएको मितिमा चुनाव घोषणा गर्नु सरकारको दायित्व भएको बताए ।

‘निर्वाचन आयोगले गरेको सिफारिसमा गर्नैपर्छ निर्वाचन, निर्वाचन भनेको सरकारको स्वेच्छाको विषय होइन, संवैधानिक, कानुनी र लोकतान्त्रिक बाध्यता हो, कर्तव्य पनि हो’ उनले भने, ‘औपचारितामा दिन तोक्ने अधिकार मात्र हो सरकारको ।’

मंगलबार निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सिफारिस गरेको थियो । तर सरकारले निर्वाचन आयोगले सिफारिस गरेको दिनमा स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरिरहेको ओलीले टिप्पणी गरे ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने पनि बताए । ‘यसलाई विभिन्न चरण उपचरण गर्ने होइन, एकै चरणमा गर्नुपर्छ’ उनले भने, ‘चरण चरणमा गर्ने हो भने यही फागुनदेखि गर्नुपर्थ्यो ।’ अहिलेको सत्तारुढ गठबन्धनले सत्ता स्वार्थमा केन्द्रित भएर चुनावलाई संविधान र कानुन विपरीत आफुखुशी उपयोग गर्न खोजेको ओलीले आरोप लगाए ।