शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

सत्तारुढ दलका शीर्ष नेताको बैठक सकियो, जुटेन सहमति

सत्तारुढ दलका शीर्ष नेताको बैठक सकियो, जुटेन सहमति


काठमाडौं,
सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताबीच बालुवाटारमा भएको बैठक बिना निष्कर्ष सकिएको छ ।

सत्तारुढ गठबन्धनका दलहरु अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई कसरी अगाडि बढाउने विषयमा आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखेका थिए । देउवाले एमसीसीलाई संसदमा टेबल गर्ने र त्यहीँ आ–आफ्नो धारणा राखेर त्यहीँबाट छिनोफानो गरौँ भनेर राखेको प्रस्ताव प्रचण्ड र नेपालले अस्वीकार गरेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।

एमसीसी संसदमा टेबल गर्न अघि दलहरुबीच साझा धारणा बनाउनुपर्ने र यसका लागि प्रतिपक्षी दलसँग पनि छलफल र संवाद गर्नुपर्ने उनीहरुले कुरा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले संसदमा सबै दलले धारणा राख्न पाउने भन्दै एमसीसी सम्झौता टेबल गर्न जोड दिएपछि दुई नेताले यसरी जबर्जस्ती गर्ने हो भने ‘गठबन्धन भत्किन सक्ने’ चेतावनी दिएको स्रोतको दावी छ ।

केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुलाई फोन गरेर एमसीसी पारित नभए ‘नेपालसँगको सम्बन्धनमा पुनर्विचार गर्ने’ सम्मको धम्की दिएका थिए । जसको चौतर्फी विरोध भइरहेको छ ।

अमेरिकाले यही फेब्रअुरी २८ अर्थात फागुन १६ गतेभित्र एमसीसीबारे छिनोफानो गर्न नेपाललाई समयसिमा दिएको छ । यसका लागि अमेरिकी पक्षले नेपालका शीर्ष नेतृत्वलाई निरन्तर दबाब दिइरहेको छ ।