शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमालेले डाक्यो संसदीय दलको बैठक

एमालेले डाक्यो संसदीय दलको बैठक

काठमाडौं,
सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।

आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।

एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ । त्यसका लागि संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई आवश्यक निर्देशन दिने र अन्य महत्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताएका छन् ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएका छन् ।

त्यसलगत्तै आइतबार आकस्मिक रुपमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको थियो ।

आगामी स्थानीय तहको चुनावलाई चुनावलाई पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको भन्दै एमालेले त्यसको प्रतिवाद गर्ने निर्णय पनि गरेको थियो ।