बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

यी चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी

यी चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने एमालेको तयारी

काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमालेका एक पदाधिकारीले बताए ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्ताव दर्ता लगत्तै जबरा निलम्बनमा परेपछि कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।

जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ आकस्मिक रुपमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपर्ने बताएका थिए । तर योगेश भट्टराई, सुभास नेम्वाङ लगायतका नेताहरुले त्यसो गर्न नहुने बताए पनि ओलीले नमानेको स्रोतले बतायो ।

ओलीले गरेको संसद विघटनलाई गत २८ असारमा सर्वोच्चले असंवैधानिक कदम भएको ठहर गरेको थियो । जबरा नेतृत्वको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।