मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं
नाबालिका बलात्कार गरेको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत, तनहुँले बिहीबार यस्तो आदेश दिएको हो । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

पीडितले दिएको घटना विवरण कागज, पीडितको शारीरिक जाँच परीक्षण रिपोर्ट, घटना भएको दिन गत वैशाख १४ गते राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको हुँ भनी पल शाहले दिएको वयानलगायतलाई आधार मान्दा शाहले पीडितलाई जबर्जस्ती करणी गरेको देखिन आएको अदालतले उल्लेख गरेको छ ।

‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले वर्ष १५ कि परिवर्तित नाम ०७८/०७९ ब्यास–१२ लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली तनहुँमा पठाइदिनू’ आदेशमा भनिएको छ ।

पल शाहले जबर्जस्ती करणी गरेको पूर्णतः अस्वीकार गरे पनि उनले गरेको वयान अनुसार घटना भएको दिन राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको स्वीकार गरेकाले जबर्जस्ती करणी गरेको तथ्यसँग मिलेको अदालतले जनाएको छ। पलले बयानमा घटना भएको दिन राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई स्वीकार गरेको आदेशमा उल्लेख छ ।

शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।

जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो ।