शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले आज मुद्दा दायर गरेको अन्यमा लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने र टंक प्रसाद चौलागाई र लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ रहेका छन् ।

विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका-५ (साविक नागदह गाविस १-५)का अध्यक्ष वेत बहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका-५ (साविक नागदह गाविस ६-९) का अध्यक्ष सुन बहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दल बहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति लिखु गाउँपालिका-४, (साविक विजुलीकोट) का अध्यक्ष होम बहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्ली बहादुर सुनुवार विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्षसमेतको मिलेमतोमा विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उनीहरुले मिलेमतोमा गैरकानुनी लाभ पुर्याउने र सरकारी रकममा हानिनोक्सानी पुर्याउने बदनियतले कार्य गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुले ४ करोड २१ लाख ७०६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

बिहीबार दाबी गरिएको मुद्दामा लिुख तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कासँग ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो दाबी गरिएको छ । सोही गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत टंक प्रसाद चौलागाईसँग ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो दाबी गरिएको छ ।