शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

८० प्रतिशत मतपत्र छापियो, ७६ जिल्लामा पठाइयो सामग्री

८० प्रतिशत मतपत्र छापियो, ७६ जिल्लामा पठाइयो सामग्री

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।
हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ ।

काठमाडौंसहित छ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाई गरिनेछ । ती तहका मतपत्रमा पनि पुरानै डिजाइनअनुसार हुनेछ ।

उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरुपमा ढुवाली गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ता अघि नै मतपत्र छपाइ कार्य गरेको हो ।

विभिन्न राजनीतिक दलका तर्फबाट आफूहरू गठबन्धनमा उम्मेदवारी दिने भएकाले उम्मेदवारी दिइएपछि उम्मेदवारीको सङ्ख्या र निर्वाचन चिह्नका आधारमा मतपत्र छाप्न गरिएको आग्रहमा आयोगले असमर्थता जनाएको छ ।

निर्वाचन सामग्री जिल्ला जिल्लामा

निर्वाचन आयोगले जिल्लामा निर्वाचन सामग्री पठाउनेक्रम भने पूरा गरेको छ । आज दिउँसोसम्म पाल्पा र पर्वत गरी ७६ जिल्लामा सामग्री पठाइएको छ भने बाँकी रहेको अर्घाखाँची जिल्लाको सामग्री आजै पठाइने छ ।

सामग्री पठाइएपछि वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।