शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

चुनावमा गठबन्धन जिताउन देश दौडाहमा निस्कँदै देउवा

चुनावमा गठबन्धन जिताउन देश दौडाहमा निस्कँदै देउवा

काठमाडौं
कांग्रेस र गठबन्धन जिताउन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले देश दौडाहा गर्ने भएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्न देउवा देशका विभिन्न ठाउँमा पुग्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

गठबन्धनका उम्मेदवार जिताउन देउवासहित पार्टीका शीर्ष नेताहरूले विभिन्न स्थानमा हुने सभालाई सम्बोधन गर्ने छन्। देउवाले वैशाख २१ गते मोरङको विराटनगर, वैशाख २२ गते चितवनको भरतपुर, वैशाख २३ गते काठमाडौंमा सम्बोधन गर्ने छन्।

यस्तै, वैशाख २४ गते बिहान ११ बजे रुपन्देहीको बुटवल तथा सोही दिन मध्याह्न साढे १२ बजे तनहुँको दमौली, दिउँसो २ बजे धनुषाको जनकपुरमा सम्बोधन गर्ने छन्। उनले वैशाख २५ गते बिहान ११ बजे कास्कीको पोखरा, दिउँसो २ बजे दाङको तुलसीपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन्। वैशाख २६ गते कैलालीको धनगढी तथा वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन्।