शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

भरतपुर पुगेर बागीसँग भेटे रामचन्द्र पौडेलले

भरतपुर पुगेर बागीसँग भेटे रामचन्द्र पौडेलले

काठमाडौं
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन् । पौडेलले भरतपुरको होटल सिराँगचुलीमा बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले उनीहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा उनीहरुले काँग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता नहुने बताएका थिए । सत्ता गठबन्धन सहमतिअनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि काँग्रेस नेता जगन्नाथले विद्रोह गरेका छन् ।

भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । काँग्रेसको असन्तुष्ट समूहले मेयरमा मात्र बागी उम्मेदवारी दिएको छ । जगन्नाथको उम्मेदवारी फिर्ताका लागि यसअघि पनि गठबन्धनका नेताहरुले प्रयास गरेका थिए । तर जगन्नाथले पार्टीका नेताहरुको आग्रह र पार्टीको निर्देशन अस्वीकार गरेका छन् ।