शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

हत्या गरी फरार ‘मुण्डा’ तीन वर्षपछि पक्राउ

हत्या गरी फरार ‘मुण्डा’ तीन वर्षपछि पक्राउ

काठमाडौं
काठमाडौंको तीनकुनेमा एक व्यक्तिको हत्या गरी फरार रहेका ‘मुण्डा’ भनिने सरोज सुन्दास पक्राउ परेका छन् । उनलाई प्रहरीले तीन वर्षपछि पक्राउ गर्न सफल भएको छ । २०७५ साल मंसिर ८ गते गैरिगाउँस्थित पेट्रोल पम्पनजिकै सुन्दासले महेश परियार र मनिष बानियाँसँग मिलेर बिक्की थेवे लिम्बुको हत्या गर्नुका साथै अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएका थिए ।

परियार र बानियाँलाई सोही साँझ काठमाडौँको तारकेश्वर नगरपालिकाबाट नियन्त्रणमा लिएकोमा सुन्दास भने फरार रहेका थिए । उनी घटनापछि भारत गएर बसेका थिए । तर विगत २–३ महिनादेखि काठमाडौँको नैकापमा लुकिछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन्दासलाई बुधबार पक्राउ गर्न सफल भएको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् । परियार र बानियाँ जिल्ला अदालत काठमाडौँको फैसलाबाट केन्द्रीय कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । २५ वर्षीय सुन्दासको हकमा भने सो मुल्तबीमा राखिएको थियो ।