शुक्रबार ०४ असोज, २०८१ | Friday, September 20, 2024

उपमेयरकी उम्मेदवार चढ्ने गाडीमा आगजनी

उपमेयरकी उम्मेदवार चढ्ने गाडीमा आगजनी

सुर्खेत
कांग्रेस–माओवादी गठबन्धनकी वीरेन्द्रनगर नगरपालिकाको उपमेयर उम्मेदवार शान्ति ढकालले प्रयोग गरेको गाडीमा आगजनी भएको छ । माओवादी केन्द्रबाट गठबन्धनकी उपमेयर उम्मेदवारी बनेकी ढकालले प्रयोग गरेको बा१४च ६८३१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङ गरी राखेको गाडीमा शुक्रबार राति आगजनी भएको हो । जुम्ला रोडस्थित सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । राति करिब २ बजे स्कार्पियो र मिनीबसमा आगजनी भएको प्रहरीले जनाएको छ ।

नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको छ ।

एसपी विष्टका अनुसार प्रहरीले पाँच जनालाई नियन्त्रनमा लिएको छ । ‘शंकास्पद पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएका छौं’ एसपी विष्टले भने, ‘लागुऔषध सेवन गर्ने युवाहरुले आगजनी गरेको हाम्रो अनुमान छ । अनुसन्धान भइरहेको छ ।’