शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

मोदी फेरी नेपाल आउने, भ्रमण तालिका सार्वजनिक

मोदी फेरी नेपाल आउने, भ्रमण तालिका सार्वजनिक

काठमाडौं
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सरकारले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा मोदी काठमाडौं आउने कार्यक्रम छैन ।

आफ्नो पाँचौं नेपाल भ्रमणका रुपमा मोदी आउँदो जेठ २ गते लुम्बिनी आउनेछन् र त्यतैबाट फर्किनेछन् । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग मोदीको भेट नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्काले भने लुम्बिनीमै पुगेर मोदीसँग भेटवार्ता गर्नेछन् ।

बुद्ध पूर्णिमाका अवसरमा मोदी लुम्बिनी आउन लागेका हुन् । उनले लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्तीको विशेष कार्यक्रममा सहभागिता जनाउनेछन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा हुने प्रार्थनामा सहभागिता जनाउने कार्यक्रम छ । यस्तै दुवै प्रधानमन्त्रीले लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने तथा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र भारतका प्रधानमन्त्रीले आपसी सम्बन्ध विस्तारका विषयमा भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । यस्तै परराष्ट्रमन्त्रीले पनि मोदीसँग भेट्ने कार्यक्रम रहेको छ । मोदीको भ्रमणदलमा विदेश सचिव विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका केही अधिकारी रहनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन् । यसअघि पनि उनले लुम्बिनी आउन खोजेका थिए । तर, विभिन्न कारणले भ्रमण स्थगित भएको थियो ।