शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

एमालेले जित्यो टोखा

एमालेले जित्यो टोखा

काठमाडौं
राजधानीको टोखा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। रोचक प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार रजनी थापालाई पछि पार्दै प्रकाश अधिकारीले एमालेका लागि जित निकाले। यससँगै काठमाडौंमा नेकपा एमालेको जितको खाता खुलेको छ।

कांग्रेसका थापालाई झिनो मतान्तरले पराजित गर्दै अधिकारीले जित हासिल गरेका हुन्। यसअघि पनि उनले कांग्रेसलाई पराजित गरेर नगर प्रमुखको जिम्मेवारी बहन गरिसकेका छन्। रजनी यसअघिको निर्वाचनमा उप मेयर पदमा पनि झिनो मतान्तरले पराजित भएकी थिइन्।

प्रकाश अधिकारीले १० हजार ३४० मत ल्याएका छन्। उनले १ सय ७४ मत अन्तरले जित निकाल्दा यहाँको मत गणना रोमाञ्चक बन्न पुगेको थियो। थापाले लामो समय लिड गरे पनि अन्तिममा अधिकारी बलियो रुपमा देखा परेका थिए। थोरै मतान्तरमा अग्रता कायम रहेकाले मत परिणाममा धेरैको ध्यान खिचिएको थियो।

कांग्रेसका थापाले १० हजार १६६ मत प्राप्त गरेकी छिन्। मेयरमा पराजय भोगे पनि उपप्रमुखमा भने नेपाली कांग्रेसले जित हासिल गरेको छ। मुरारी तामाङ १० हजार १३२ मत ल्याएर उप प्रमुख पद सुरक्षित गरे। उप प्रमुखमा एमाले उम्मेदवार ज्ञानमाया डङ्गोलले ९ हजार ५१८ मत ल्याइन्। उपप्रमुखमा पराजित डङ्गोल यसअघि भने टोखाको उप प्रमुख थिइन्। कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो।