मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

बलात्कार आरोपी पाण्डेविरुद्ध मानव बेचविखनमा मुद्दा चलाउने तयारी

बलात्कार आरोपी पाण्डेविरुद्ध मानव बेचविखनमा मुद्दा चलाउने तयारी

काठमाडौं
एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्धको प्रहरीले अनुसन्धान जारी राखेको छ । आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा पाण्डेले ती किशोरीमाथि बलात्कार गरेको आरोप लागेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई हिजो शनिबार स्वयम्भूबाट पक्राउ थियो । उनीविरुद्ध कस्तो प्रकृतिको मुद्दा लगाउने भन्नेबारे प्रहरीले कानुनी परामर्श थालेको एक उच्च प्रहरी अधिकारीले बताए ।

उनका अनुसार बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले अरू के मुद्दा आकर्षित हुन्छ भन्नेबारे कानुनी परामर्श भइरहेको छ ।

सम्भवतः पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी छ । आज आइतबार सरकारी बिदा भएकाले सोमबार मात्रै म्याद थपलगायत प्रक्रिया सुरु गर्ने प्रहरीले जनाएको छ ।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सफलताको पार्टी दिने भन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियोपछि उनलाई पक्राउ गरिएको हो ।

तत्कालीन समयमा आफ्नो उमेर १६ वर्ष रहेको बताउने युवतीले पटक–पटक आफूमाथि ‘ब्ल्याकमेल’ गरेर बलात्कार गरेको आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जाल टिकटकमा विभिन्न भिडियो क्लिप सार्वजनिक गर्दै सौन्दर्य प्रतियोगिताका क्रममा आफूमाथि बलात्कार भएको बताएकी हुन् ।