बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

निजगढ विमानस्थलको काम अघि बढाउन संसदीय समितिको निर्देशन

निजगढ विमानस्थलको काम अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। समितिको सिंहदरबारमा बसेको बैठकले विमानस्थलको काम अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न सरकारलाई निर्देशन दिएको हो।

‘राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासको दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने’, समितिले निर्णय गरेको हो।

समितिले लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने उल्लेख गरेको छ।

निजगढ विमानस्थलको निर्माण गर्दा त्यहाँको जंगल विनाश हुने भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले केही दिन अघि ‘विमानस्थल आवश्यक भएको भए अन्यन्त्र निर्माण’ गर्ने आदेश दिएको थियो। उक्त आदेशविरूद्ध प्रतिनिधि सभाको बैठकमा समेत सांसदहरूले विरोध जनाएका थिए।