शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

जसपाभित्रको विवाद उत्कर्षमा

जसपाभित्रको विवाद उत्कर्षमा

काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादवले आफूपक्षीय केन्द्रीय कार्यकारिणी सदस्य मात्रै राखेर सोमबार बैठक गरेपछि विवाद बढेको हो ।

विवाद बढ्दै जाँदा संसदीय दल र केन्द्रीय समितिमा बहुमत जुटाएर अर्को पक्षलाई कारबाही गर्ने तयारीमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष लागेका छन् ।

यादव पक्षको बैठकमा मन्त्री फेरबदल गर्ने विषयमा छलफल गर्नुका साथै संघीय परिषद् अध्यक्ष भट्टराई, कृषिमन्त्री महिन्द्रराय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठलगायतलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

केन्द्रीय कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादवले भने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठक बसेर मन्त्री फेरबदल गर्नेबारे छलफल भएको तर स्पष्टीकरण माग्ने निर्णय नभएको दाबी गरे । ‘मन्त्री फेर्ने कुरा भएको हो, नेतालाई स्पष्टीकरण माग्ने कुरा भएको होइन,’ उनले भने । केन्द्रीय कार्यकारिणी समितिको बैठक भनिए पनि भट्टराई पक्षधरलाई जानकारी दिइएको थिएन ।