शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्नू

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्नू

काठमाडौं
गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताए । उनले प्राकृतिक विपद्का कारण सडकहरूमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरूलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भुमिका निर्वाह गर्न पनि निर्देशन दिए । उनले भने, “हामीले यसको पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु नै अहिलेको हाम्रो सबैभन्दा ठूलो दायित्व हो ।”

उनले सरकारको मातहतका सरोकारवाला निकायहरूको पूर्वतयारी सन्तोषजनक रहेको उल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्को सामना गरी नागरिकको जीवन रक्षा गर्नसक्ने विश्वास व्यक्त गरे । उनले विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराए ।