मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

सञ्जय साह टक्लालाई दोब्बर जन्मकैद

सञ्जय साह टक्लालाई दोब्बर जन्मकैद

काठमाडौं । पूर्व सांसद समेत रहेका सञ्जय साहलाई दोब्बर जन्मकैदको फैसला सुनाइएको छ। जनकपुरधामको सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्ड र पाँच जनाको मृत्यु हुनेगरी गराइएको जनकपुर रामानन्द चोक बम काण्डको मुद्दामा उनलाई जन्मकैदको फैसला सुनाइएको हो।

सञ्चार उद्यमी सिंघानियाको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ। बुधबार न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र डालकुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपित पूर्वमन्त्री सञ्जय साहलाई जन्मकैद फैसला सुनाएको थियो। जिल्ला अदालतले सञ्जय र मनक लामालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यस्तै रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनी, चन्द्रदीप यादव र पवन लामालाई १० वर्ष कैद सजाय फैसला सुनाएको थियो। सोही फैसलालाई उच्च अदालतले सदर गरेको हो।

जाहेरीवालाको तर्फबाट सरकारी वकिल कार्यलयबाट सहन्यायाधीवक्ता यदुनाथ शर्मा, विपिन कुमार झा, हेमबहादुर कार्की र राजलाल यादवले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट श्याम मिश्र, सुरेन्द्र महतो, प्रकाश कुमार घिमिरे, ओमप्रकाश सिंह र धर्मेन्द्र शर्माले बहस गरेका थिए। २०६६ साल फागुन १७ गते होलीका दिन सिंघानियाको गोली हानी हत्या भएको थियो।

बम काण्डमा पनि जन्मकैद
यसअघि जनकपुरधामको रामानन्द चोकमा १० वर्षअघि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री संजय ‘टकला’ भनिने संजय कुमार साहलाई जन्मकैद सजाय सुनाएको थियो। रामानन्द चोकमा २०६९ साल बैशाख १८ गते भएको शक्तिशाही बम विष्फोट काण्डमा हत्या तथा हत्या प्रयासमा दर्ता गरिएको मुद्दाको फैसला सुनाउदै धनुषा जिल्ला अदालतले साहलाई जन्मकैदको फैसला सुनाएको थियो।

हत्या मुद्दामा साहसँगै तत्कालीन भूमिगत समूहका नाइकेहरु अर्जुन सिंह भनिने मुकेश चौधरी र राजन मुक्ति भनिने रंजित झा, जयप्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र रिपेन्द्र झालाई जन्मकैद सजाय गरिएको छ । उनीहरु सबैमाथि माथि ज्यान मार्ने उद्योग अन्तर्गत जनही १२ बर्षको सजाय कैद ठहर गरेको थियो।

त्यसैगरी अन्य प्रतिवादी ओम प्रकाश यादवलाई हत्या अभियोगमा १० वर्ष र हत्या प्रयासमा ५ वर्ष कैद गरी १५ वर्ष सजाय गरिएको थियो। २०६९ साल बैशाख १८ गते गराईएको शक्तिशाली बमकाण्डमा परेर रन्जु झा, दिपेन्द्र दास कथबनिया, सुरेश उपाध्याय, विमल शरण गरी ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।

भूमिगत समूहमा सक्रिय रहेका मुकेश चौधरीले बम विस्फोट गराउनबारे तत्कालीन सांसद सञ्जयसँग भएको कुराकानीको टेप सार्वजनिक गरेपछि घटनामा उनको संलग्नता भएको खुलेको थियो। घटनाका नाइके भनिएका मुकेश चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो। चौधरी लगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए। तर पछि उच्च अदालतले जन्मकैदको फैसला उल्टाउँदै ७ वर्ष कैदको सजाय सुनाएको थियो।

को हुन साह ?
२०६४ सालको संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र दोस्रो संविधानसभाको निर्वाचनमा सद्भावना पार्टीबाट जनकपुरबाट प्रत्यक्ष चुनाव जितेका थिए। पहिलोपटक चुनाव जितेपछि विजय गच्छदार भौतिक पूर्वाधार मन्त्री हुँदा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीसमेत भएका थिए।

दोस्रो पटक चुनाव जितेको केही दिनमै उनीविरुद्ध सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या आरोप र जनकपुर बम काण्डको अभियुक्त बनाइएको थियो। साहलाई प्रतिवादी बनाइएपछि उनी सांसद पदमा बहाल रहेकै बेला भारतको दिल्ली फरार भएका थिए। साह पक्राउ परेपछि उनलाई तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङले सभासद पदबाट निलम्बन गरेका थिए।

फोरमबाट पहिलोपटक सांसद बनेपनि फोरम विभाजित हुँदा उनी विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा आबद्ध भए। पछि गच्छदारको पार्टी पनि छोडेर उनले आफ्नै नेतृत्वमा मधेसी क्रान्ति फोरम गठन गरेका थिए। अन्त्यमा उनी राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीमा आवद्ध भएका थिए। केन्द्रीय सहसंयोजक बनेर उनले दोश्रो संविधानसभामा धनुषा निर्वाचन क्षेत्र नं। ३ बाट टिकट पाएका थिए।

२०७० सालमा भएको प्रतिनिधि सभाको चुनावमा साहले जेलबाटै नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधिलाई समर्थन गरेका थिए भने राजेन्द्र महतोलाई हराउन भन्दै आफ्ना समर्थकहरुलाई परिचालित गरेका थिए।