शुक्रबार ०२ कात्तिक, २०८१ | Friday, October 18, 2024

अख्तियारमा १६ हजार २३८ वटा उजुरी दर्ता

अख्तियारमा १६ हजार २३८ वटा उजुरी दर्ता

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताएको छ। बुधबार आयोगले पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका उजुरी ८ हजार ९३ सहित कुल उजुरीको संख्या २४ हजार ३३१ रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

उनले गत आर्थिक वर्षमा आयोगको कार्यालय टंगालका उजुरी १२ हजार ३ सय र मातहत कार्यालयहरुका उजुरी १२ हजार ३१ गरी कुल २४ हजार ३३१ रहेको बताए। उनले लिखित निवेदन ४ हजार ४९५ अर्थात् २७.७ प्रतिशत, हुलाक सेवाबाट २ हजार ७६० अर्थात १७ प्रतिशत, इमेलमा २ हजार ७५७, वेभसाइटमा २ हजार १६५, टेलिफोन ७५०, समाचारपत्रमा २९०, मोबाइल एपमा १०२, फेसबुकमा ९३, भाइबर १५, एसएमएसमा ४ र अन्य श्रोतमा २ हजार ८०७ गरी १६ हजार २३८ उजुरी गत आर्थिक वर्षमा दर्ता भएको बताए।

उनले भने, ‘उजुरीहरु विभिन्न ११ माध्यमबाट भएका छन्। जसमध्ये सबैभन्दा धेरै २७.७ प्रतिशत लिखित निवेदनबाट भएका छन्। वेबसाइटमा नै उजुरी गर्ने व्यवस्था राखेका छौँ। इमेल, भाइबर, ट्विटर लगायत, टेलिफोन १०७ नम्बरमा डाइरेक कल गरेर पनि उजुरी टिपाउन सक्छौँ तरपनि अहिले पनि लेखेर नै कार्यालयमा वा हुलाकमार्फत पनि आउने गरेका छन्। लिखित निवेदनमार्फत पनि उजुरीको संख्या बढी नै छ। प्रविधिलाई अझै पनि एडप्ट गर्न नसकेको देखिन्छ। इमेलमार्फत पनि १७ प्रतिशत छ। वेबसाइटबाट १३, टेलिफोनबाट ४.६ प्रतिशत, मोबाइल एप, फेसबुक लगायतबाट पनि छ। विभिन्न ११ वटा माध्यमबाट पनि उजुरी पर्छ। कार्यालयगत उजुरी फस्र्यौटको हिसाबले हेर्ने हो भने काठमाडौँको अलि बढी छ भने अन्य कार्यालयको करिव ५० प्रतिशत जस्तो छ।’

प्रवक्ता भण्डारीले भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै मधेस प्रदेशका उजुरी दर्ता भएको बताए। उनले मधेस प्रदेशमा २४.२५ प्रतिशत, बागमती प्रदेशमा २४.१३ प्रतिशत, लुम्बिनी प्रदेशमा १४.१, प्रदेश १ मा ११.६१, सुदूरपश्चिममा १०.२०, कर्णालीमा ८.१८ र गण्डकीमा ७.६२ प्रतिशत उजुरी दर्ता भएको बताए। सबैभन्दा कम उजुरी गण्डकी प्रदेशमा रहेको तथ्यांकले देखाएको छ।

त्यस्तै प्रारम्भिक छनोटबाट गत आर्थिक वर्षमा फछ्र्यौट भएका उजुरी कुल उजुरी २४ हजार ३३१ मध्ये १७ हजार १६९ उजुरी अर्थात (७०.६) प्रतिशत उजुरी फछ्र्यौट भएका छन्। त्यस्तै बाँकी आगामी आर्थिक वर्षमा सरेका ७ हजार १६२ उजुरी रहेका छन्। प्रवक्ता भण्डारीले विस्तृत अनुसन्धानबाट आर्थिक वर्ष २०७८र०७९ मा भएको कारबाही संख्या ९१४ रहेको बताए।

मुदद दायर १३०, सुझाव ८०, लेखि पठाइएको १७, तामेली ६३७, मुल्तबी ९ र अन्य ४१ कारबाहीमा परेका छन्। उनले उजुरीको क्रम गत वर्षहरुको भन्दा बढ्दै गएको बताए। उनले ठूलो खालको मुद्दाका प्रमाण पर्याप्त जुट्न नसक्दा ढिला भइरहेको बताए।

उनले चालु आ।व।मा मात्रै ८४ वटा पुनरावेदन गइसकेको बताए। आज नै आयोगले आयोगको ३२ औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। संविधानअनुसार सबै संवैधानिक निकायले वर्षभर सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ।