मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

लाल मोहम्मद हत्या प्रकरणः महिलाले गरेकी थिईन् मोहम्मदको रेकी

लाल मोहम्मद हत्या प्रकरणः महिलाले गरेकी थिईन् मोहम्मदको रेकी

काठमाडौं । लाल मोहम्मदको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरी सार्वजनिक गर्ने तयारी गरेको छ । प्रहरीले घटनामा सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारामसहित ३ जनालाई पक्राउ गरेको छ ।

पेस्तोल व्यवस्थापन गर्ने मोहम्मदलाई गत शुक्रबार वीरगन्जबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी मकवानपुरकी एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले घटनाको केही दिनदेखि रेकी गरिरहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले मधेस प्रदेशबाट अर्का एक जना व्यक्तिलाई पनि पक्राउ गरेको छ । गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो ।