मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

लाल मोहम्मद हत्या प्रकरणः ३ जना सार्वजनिक, सुटर अझै फरार

लाल मोहम्मद हत्या प्रकरणः ३ जना सार्वजनिक, सुटर अझै फरार

काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न ३ जनालाई सार्वजनिक गरिएको छ । आज शुक्रवार प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ३ जनालाई सार्वजनिक गरेको हो ।

काठमाडौंको गोठाटारमा गएको असोज ३ गते गोली हानी हत्या गर्न यी ३ जनाले सहयोग गरेको पाईएको छ । पक्राउ गरेका तीनै जना २१ वर्षमुनिका रहेका काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले बताए । उनले गोली हानी हत्या गर्न सहयोग गर्ने ३ जनामध्ये १ जना महिला रहेको बताए।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेका एसएसपी बोहराले बताए । पक्राउ पर्नेमध्ये महारम र रेहानले लाल मोहम्मदको हत्या गर्नका लागि वीरगञ्जबाट हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको उनले जानकारी दिए ।

एसएसपी बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भूमिका खेलेको पाइएको जानकारी दिए । उनले पक्राउ परेका व्यक्तिहरूले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको बताए ।

एसएसपी बोहराले अहिलेसम्म घटनाको अन्तिम विन्दु कहाँसम्म पुग्छ भन्ने निष्कर्ष ननिस्किएको बताए। घटनाको वास्तविकतासम्म पुग्न समय लाग्ने उनको भनाइ छ ।