शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

राप्रपाबाट ७ सय जनाको नाम सिफारिस

राप्रपाबाट ७ सय जनाको नाम सिफारिस

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सय जनाको नाम सिफारिस गरेको छ ।

उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस भएर आएका नामबाट योग्य उम्मेदवार छनोट गरिएको पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि करिब सात सय उम्मेदवारको नाम सिफारिस भएको छ । पार्टीले समान विचार भएका राजनीतिक दल तथा समूहसँग एकीकरणका साथै गठबन्धन गर्न केही दलसँग औपचारिक तथा अनौपचारिक छलफलसमेत सुरु गरेको छ ।

उक्त पार्टीले नेकपा एमालेसँग पनि चुनावी गठबन्धनका लागि वार्ता गरिरहेको जनाएको छ । गठबन्धनका लागि सिट बाँडफाँट भएपछि मात्र पार्टीले प्राप्त गर्ने सिट र क्षेत्र निर्धारणका आधारमा उम्मेदवारलाई टिकट वितरण गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए ।