शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

निर्वाचन निष्पक्ष बनाउन हरेक बालिग नेपालीको विशिष्ट योगदान रहन्छः सभामुख सापकोटा

निर्वाचन निष्पक्ष बनाउन हरेक बालिग नेपालीको विशिष्ट योगदान रहन्छः सभामुख सापकोटा

काठमाडौं

सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचन निष्पक्ष बनाउन हरेक बालिग नेपालीको विशिष्ट योगदान रहने बताएका छन्। दशैं, तिहार, छठ र नेपाल सम्वतका अवसरमा आइतबार बिहान शुभकामना सन्देश दिँदै सापकोटाले आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचन निष्पक्ष रुपमा सफल बनाउन हरेक बालिग नेपाली नागरिकको विशिष्ट योगदान रहने कुरालाई गहिरो गरी आत्मसात गर्न आग्रह गरेका छन्।

उनले चाडपर्वहरुको अवसरमा हुने पारिवारिक जमघट एवं आफन्त भेटघाटका क्रममा हुने छलफलहरु समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने विश्वास समेत लिएका छन्।

‘जनस्वास्थ्यविद्हरुले डेंगुको जोखिम बढ्दै गएको बताइरहँदा सचेत भएर चाडपर्व मनाउन सबैमा विशेष अपिल गर्दछु। हाम्रा चाडपर्वहरु व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भातृत्व एवं सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण बन्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु’, सभामुख सापकोटाले भनेका छन्।

उनले यस वर्ष देशका विभिन्न जिल्लामा भएका प्राकृतिक प्रकोप, डेंगु, कोभिड–१९ र दुर्घटनाका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।