बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार, ६ जना पक्राउ

प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार, ६ जना पक्राउ

काठमाडौं । दरबारमार्गस्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरमाथि खुकुरी प्रहार भएको छ । बाउन्सरमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रविसे, सिन्धुपाल्चोकका दावा दोर्जे शेर्पा (च्याङ्बा), जीवन तामाङ, प्रदीप लामा, मंगलटारका जितेन लामासहित ६ जना छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार बिहान ड्यूटी सकेर घर फर्किँदै गरेका क्लबका बाउन्सर नितेश राई र छिरिङ लामालाई मोटरसाइकलमा आएको अज्ञात समूहले आक्रमण गरेको थियो ।

आक्रमणबाट नितेशको खुट्टा र छिरिङको टाउकोमा चोट लागेको छ । दुवैको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार खुकुरी प्रहार भएको सूचना पाएलगत्तै घटनास्थल पुगेर संलग्नको खोजी थालिएको थियो ।

काभ्रेका अमित लामालगायतका लगानी रहेको प्लाटिनम क्लबमा केही अघि दुई बाउन्सरले एक समूहमाथि कुटपिट गरेको थियो । त्यही समूहले खुकुरी प्रहार गरेर बदला लिएको हुनसक्ने पाइएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।