शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

दीपक मनाङे निर्विरोध निर्वाचित

दीपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं । मनाङ प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन्।

प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले विहान १० बजेर ८ मिनेटमा उम्मेदवारी फिर्ता लिएसँगै गुरुङ निर्विरोध निर्वाचित भएका हुन्। त्यस क्षेत्रमा अन्य दलले उम्मेदवारी दर्ता गरेका छैनन्। मनाङेका प्रतिस्पर्धी दोर्जेले उम्मेदवारी फिर्ता लिएसँगै निर्वाचन अधिकृतले निस्सा प्रदान गरिसकेको छ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ। उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेश सभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन्।

२०७४ को निर्वाचनमा पनि स्वतन्त्रबाट निर्वाचित भएका मनाङे गण्डकी प्रदेश सरकारमा तीन पटक मन्त्री भइसकेका छन्। सरकार निर्माणमा निर्णायक बनेका उनी एमाले र कांग्रेस नेतृत्त्वको दुवै सरकारमा थिए।