शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

दार्चुला घटनाबारे भारतलाई पठायो ‘कूटनीतिक नोट’

दार्चुला घटनाबारे भारतलाई पठायो ‘कूटनीतिक नोट’

काठमाडौं । दार्चुला घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ । सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे आइतबार मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासलाई ‘कूटनीतिक नोट’ पठाएको मन्त्रालय स्रोतले जनाएको हो ।

भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय संयन्त्रसँग प्रभावकारी रूपमा समन्वय गर्न, त्यस्ता कार्य गर्दा विशेष सावधानी अपनाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिनका लागि ध्यानाकर्षण गराइएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

ती अधिकारीका अनुसार गृह मन्त्रालयले घटनाबारे परराष्ट्रमा पठाएको स्थलगत प्रतिवेदनका आधारमा भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाइएको हो ।

घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ। भारतले उक्त घटनामा गल्ती स्वीकार गरिसकेको छ । कम्पनीले पीडित परिवारलाई १० लाख भारु क्षतिपूर्ति समेत दिइसकेको छ ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।