मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

क्रकेटर सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद माग

क्रकेटर सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद माग

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज उनीविरुद्ध सोमबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

सन्दीपविरुद्ध १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । थुनछेक बहस मंगलबारदेखि सुरु हुनेछ । सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो ।

१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन् ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पु¥याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी थिइन् ।

पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी गरिएको छ ।

आफूमाथि लागेको आरोप भने सन्दीपले अस्वीकार गर्दै आएका छन्। प्रहरीसँगको बयानका क्रममा सन्दीपले होटलको एउटै कोठामा बसेको स्वीकारेका छन्। तर, बलात्कार नगरेको उनको जिकिर छ।