मंगलबार ०१ असोज, २०८१ | Tuesday, September 17, 2024

क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान

क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्दामा वादी र प्रतिवादीका तर्फबाट भएको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनाली, सुधार रिजाललगायतले बहस गरेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

जाहेरी पर्दा लामिछाने केन्यासँगको टी–ट्वेन्टी क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए।