शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

रेशमकी पत्नी रञ्जिता कैलाली १ मा १२ हजार मत बढी ल्याएर विजयी

रेशमकी पत्नी रञ्जिता कैलाली १ मा १२ हजार मत बढी ल्याएर विजयी

कैलाली । अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रमा यो पटक पत्नी रञ्जिता फराकिलो मतान्तरका साथ विजयी भएकी छन् । कैलाली १ मा नागरिक उन्मुक्तिको पार्टीबाट उम्मेदवार बनेकी रञ्जिताले १२ हजार ३२३ मतान्तरसहित जित हात पारेकी हुन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरिन् ।

रञ्जिताले ३० हजार ४०४ मत पाउँदा रामजनम १८ हजार ८ मतमा रोकिए । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत ल्याएर तेस्रो बने ।रञ्जिताले पाएको मत अघिल्लो पटक रेशमले पाएभन्दा ४ हजारमात्रै कम हो ।

७४ मा वारेसनामामार्फत उम्मेदवारी दिएका रेशमलाल चौधरी २० हजार ९३४ मतान्तरले विजयी भएका थिए । उनले ३४ हजार ३४१ मत ल्याएर विजयी हुँदा एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याएकी थिइन् ।