शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

दोलखामा १५ गते पुनः मतदान गर्ने निर्णय

दोलखामा १५ गते पुनः मतदान गर्ने निर्णय

काठमाडौं । दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ । पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान बैठक बसेर मंसिर १५ लाई मतदानको मिति तोकेको हो ।

आयोगको स्थलगत भ्रमण र अध्ययनपछि वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएकाले पुनः मतदानको सिफारिससहित आयुक्त रामप्रसाद भण्डारीले आयोग बैठकसमक्ष प्रतिवेदन पेश गरेका थिए ।

सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र गमा पुनः मतदान हुने भएको हो ।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुनेछ ।