शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

स्याङ्जा–२ र बाजुरामा मतगणना सुरू गर्न कांग्रेस नेताहरूको माग

स्याङ्जा–२ र बाजुरामा मतगणना सुरू गर्न कांग्रेस नेताहरूको माग

काठमाडौं ।
स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न माग गर्दै कांग्रेस नेताहरु निर्वाचन आयोग पुगेका छन् । आज कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, स्याङ्जा २ मा उम्मेदवार रहेका उपसभापति धनराज गुरूङ र केन्द्रीय सदस्य प्रदीप पौडेल आयोग पुगेर आयुक्तहरूसँग छलफल गर्दै मतगणना सुरू गर्न माग गरेका हुन्।

स्याङ्जा र बाजुरामा मतगणना सुरू गर्न आयोगको ध्यानाकर्षण गरिएको नेता पौडेलले जानकारी दिए। उनले मतगणना नगरेर आयोगले कमजोरी देखाएको आरोप लगाए।

‘विधिवत रूपमा मतदान भएको छ भनेर दलका प्रतिनिधिहरूले मुचुल्का गरेका छन्। तर ती मतपेटिकाको मत गणना भएको छैन,’ उनले भने, ‘आयोगबाट अनधिकृत समिति बनाएर अर्कै खेल खेल्न खोजिएको त होइन भनेर हामीले ध्यानाकर्षण गराएका छौं।’

स्याङ्जामा कांग्रेसले बुथ कब्जा गरेको एमालेको आरोप छ। विवादका कारण मतगणना हुन सकेको छैन। बाजुरामा पनि कांग्रेस र एमालेले एकअर्कालाई १७ वटा बुथ कब्जा गरेको आरोप लगाएका छन् त्यसका कारण त्यहाँ पनि मतगणना सुरू हुन सकेको छैन।