बिहीबार ०३ असोज, २०८१ | Thursday, September 19, 2024

बैतडीमा युवतीको हत्या, अर्की किशोरी घाइते अबस्थामा फेला

बैतडीमा युवतीको हत्या, अर्की किशोरी घाइते अबस्थामा फेला

धनगढी । धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अवस्थामा बैतडीमा युवती शव भेटिएको छ । अर्की किशोरी घाइते अबस्थामा भेटिएको छ । उनीहरु मंगलबारदेखि हराईरहेका थिए ।

बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा भेटिएको जानकारी दिए ।

उनकाअनुसार नेहा पनि धारिलो हतियारको प्रयोगबाट घाइते भएको अवस्थामा भेटिएकी हुन् । उनको उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपचारपछि डडेल्धुरा पठाइएको छ । उनको अवस्था गम्भीर छ ।

प्रहरी निरीक्षक जोशीका अनुसार दुवै जना मंगलबार बिहान कपडा सिलाउन भनेर घरबाट निस्किएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा बुधबार बेलुकी स्थानीय र प्रहरीको संयुक्त टोलीले फेला पारेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।