शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

समानुपातिकको गणना आज सकिने, यस्तो पछिल्लो मत परिणाम

समानुपातिकको गणना आज सकिने, यस्तो पछिल्लो मत परिणाम समानुपातिक

काठमाडौं । समानुपातिकतर्फको मतगणना आज सकिने भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार आज दिउँसोसम्म समानुपातितर्फको सबै मतगणना सकिनेछ। 

अब दोलखा र बाजुराको केही मत मात्रै गणना गरी आयोगको वेबसाइटमा प्रविष्ट गर्न बाँकी रहेको भट्टराईले बताए। मतगणना सकिएपछि आयोगमा बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्ने उनले बताए।  

आज विहानसम्म अद्यावधिक विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख मत कटाएको छ। १ करोड ४ लाख ७८ हजार सदर मत गणना हुँदा एमालेले २८ लाख १४ हजार मत प्राप्त गरेको हो। 

नेपाली कांग्रेसले २६ लाख ८८ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत प्राप्त गरेका छन्। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी ९जसपा० ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीले भने २ लाख ९६ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्नका लागि कूल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन नसक्ने देखिएको छ। अहिलेकै सदर मत अनुसार पनि थ्रेस होल्ड पार गर्न ३ लाख १४ हजार ३ सय ६२ मत ल्याउनुपर्छ।

तर एकीकृत समाजवादीले पाएको मत थ्रेस होल्ड पार गर्न चाहिनेभन्दा १८ हजार कम हो। यसपटक पुराना दलहरु एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले पनि थ्रेस होल्ड पार गरी राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन्।