शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

उधौली पर्वको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना

उधौली पर्वको अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना President Bidya Devi Bhandary

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उधौलीका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उधौली पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको बताइन् ।

राष्ट्रपतिको सन्देशमा किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने पर्वको महत्व र गरिमाबारे उल्लेख गरिएको छ ।

हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वका अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलका लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन–पुतली नलागोस् र सह बनोस् भन्ने कामना सहित भूमिको पूजा गर्ने गरिन्छ ।

‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौली जस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव अभिवृद्धि गर्नुका साथै नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ। यस पर्वले मानव जीवन र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको छ ।’ सन्देशमा भनिएको छ ।

उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।