शनिबार ०५ असोज, २०८१ | Saturday, September 21, 2024

भुसाल र साहसहितका नेताहरू एमालेबाट निष्काशित

भुसाल र साहसहितका नेताहरू एमालेबाट निष्काशित

काठमाडौं । नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। 

केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेकाले नेताद्वय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको पार्टीका उपमहासचिवसमेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। 

बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रीता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रिय सदस्य नरहने गरी कारबाही गरिएको उनले जानकारी दिए।

त्यसैगरी, एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । 

यस्तै, चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताए।

‘गएको चुनावमा पार्टीको विरुद्धमा लागेका, पार्टी परित्याग गरेका व्यक्तिहरूलाई पनि पार्टीबाट हटाउने निर्णय गरेका छौं। पार्टी स्थायी कमिटीका दुईजना सदस्य घनश्याम भुसाल र प्रभु साहलाई हामीले पार्टीबाट हटाएका छौं’, उनले भने।

पार्टीले टिकट नदिएपछि रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल पराजित भए भने साह भने रौतहट निर्वाचन ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्।